अँध्यारो
सन्नाटा छ वरपर
कुनै आवाज आयो पर
यसो सुनी हेर्छु
कुनै भेउ पाउदिन
ओहो यो त मनको आवाज रहेछ
तर यसले के भन्न खोजिरहेछ
छट्पटी छ मनमा
कोल्टे फेर्छु
अह आउदैन त निद्रा
भुक्दैछ कुकुर बाहिर
टकटक
गर्दैछ घडी
आँखा चिम्लन्छु
मनको आँखा उघारेर हेर्छु
खुला आकाश बिचमा
ताराहरु नृत्य गर्दैछन
घरि झुन्ड झुन्ड
घरि छुट्टिएर
ओहो कस्तो विचित्रको खेल खेल्दैछन् यी ताराहरु
कालो रातमा दियो बले झै चम्किरहेछन् यी ताराहरु
घरी जुनकिरी झै चल्मलाउछन्
छिन छिनमा फरक रुप देखाउछन्
फरक तस्विरहरु
खुशीका अनि दुखका
हासोका अनि रोदनका
भूतका अनि भविष्यका तस्विरहरु
अनि फेरि एक निमेशमै विलिन हुन्छ सारा दृश्यहरु
एकैछिनमा ताराहरुको एक झुण्ड आउछन्
तानेर लान्छन्
आफुलाई ताराहरुबिचमा पाऊछु
उडिरहेछु आकाशमा
चारैतिर उज्यालो छ यहा
जमिनबाट देखे जस्तो अन्धकार कहि छैन यहा
अद्भुत आनन्ददायी
शब्दहरु छैनन् बयान गर्नलाई यो क्षण
सारा ब्रह्माण्डको शयर गर्दैछु म
ताराहरुसंग रमाउदै
जुनसंग लुकामारी खेल्दै
ग्रहहरुविच झुला झुल्दै
यसो आँखा उघारी हेर्छु
बिहानी भएछ