नेपाल बन्दको दिन साइकलमा सरर

बिहान साढे ६ बजेतिर मेरो निद्रा खुल्यो, मोबाइलमा बजेको अलार्मसंगै | साढे ७ बजेको क्लासको लागि कलेज जाने तयारी मा जुट्दै गर्दा कलेजबाट क्लास नहुने भन्दै sms आयो | क्लास नभएकोमा म छक्क परे अनि दङ्ग पर्दै फेरी ओछ्यानमा पल्टिए |
८ बजेतिर उठेर रेडियो बटारे, मलाई अघिल्लो रात भारत र पाकिस्तान बिच भएको च्याम्पिएंस ट्रफीको नतिजा सुन्नु थियो, त्यो त रेडियोले भनेन तर क्लास नहुनुको कारण चै थाहा भयो, नेपाल बन्द | पटक पटक नेपालमा भैरहने बन्द मलाई(अन्य आम नेपालीलाई जस्तै) पटक्कै मन पर्दैन | नेपाल बन्दको दिनमा झन धेरै काम गरेर व्यक्तिगत रुपमै भएपनि बन्दलाई असफल बनाउनु पर्छ भन्ने मलाई लाग्छ |
९ बजेतिर खाना खाएर अफिस जाने तरखर गर्दै थिए सुमनको फोन आयो | उसले आज बन्दको दिन cycling जाने हो भनेर सोधे | हामीले धेरै अघि देखि cycling जाने सोच बनाइरहेको भएपनि साइत भने जुरेको थिएन | मैले सहमति जनाए अनि सुरु भयो साथीहरुलाई फोन गर्ने क्रम | अरु केहि साथीहरु पनि संगै जानलाई सहमत भए |  अफिस जाने तयारी गर्दै गरेको मेरो गन्तव्य परिवर्तन भयो र म लागे ठमेलतिर जहाँ साइकल भाडामा लिनु थियो |
११ बजेसम्म हामी ६ जना जम्मा भयौ | हामीले सबै तयारी त सिध्यायौ तर एक जना साथी आई नपुगेकाले के गर्ने भनेर अलमलमा पर्यौं | उक्त साथीलाई लिन सुमन र विवेक अघि जाने र एउटा अतिरिक्त साइकल डोर्याउदै बाकी बिस्तारै अघि बढ्ने भयौ | मैले दुई वटा साइकल डोर्याउने भए र हामी अघि बढ्यौ |
बन्दको दिन भएकोले बाटोमा धेरै मान्छेहरु हिड्दै आ-आफ्नो गन्तव्यतिर जादै थिए | हामी लैनचौरबाट लाजिम्पाटतर्फ अघि बढ्दै थियौ, एउटी दिदीले भन्नु भयो, “भाईहरुले त्यसरी साइकल गुडाउदै लैजानु भन्दा त हामीलाई कुदाउन दिए त सजिलो हुन्थ्यो नि!” | हामीलाई ढुंगा खोज्दा देउता भेटे जस्तो भयो | तर उहाहरु त दुई जना हुनु हुदोरहेछ | मैले उहाहरुलाई साइकलमा पछाडि बस्ने ठाउँ नभएकोले दुई जना जान नमिल्ने बताए | ती दिदिले उहासँगै हिडिरहेको एक युवकलाई देखाउदै भन्नु भयो “म जाने होइन यो भाईलाई महाराजगञ्ज पुग्नु पर्ने रैछ तपाईहरू कहाँ सम्म पुग्नु हुन्छ छोडी दिनुस्न” | हामीलाई पनि त्यतै जानु थियो हामी राजी भयौ | अब हामीसंगै ती युवक पनि थपिए | आफूलाई सागर चौधरी बताउने ती युवक त्यहि दिन बिहान झुम्का (सुनसरी जिल्लाको एक ठाउँ) बाट काठमान्डौ आएका रहेछन् | महाराजगञ्जमा साउदी अरब जानको लागि अन्तर्वार्ता दिन कलंकीबाट हिड्दै आएका रहेछन् |
शिक्षण अस्पताल अगाडी आएर हामी रोकियौ र हामी भन्दा अघि हिडेका साथीहरुलाई फोन प्रयास गर्दै थियौ उनीहरु केहि पर आउदै गरेको देखियो | हामी चाडै आइपुगेको देखेर उनीहरु छक्क परे | ती युवकलाई मैले धन्यवाद दिए र उनले पुग्नु पर्ने ठाउँ केहि अघि रहेको बताए | अब हाम्रो ७ जनाको टिम पुरा भयो | नारायण गोपाल चोक पुग्नै लाग्दा एक हुल बन्दकर्ताहरु देखिए | हामी साइकलबाट ओर्लिएर डोर्याउदै बन्दकर्ताहरुलाई छिचोल्यौ | बसुन्धरा चोक पुग्नै लाग्दा अर्को हुल बन्दकर्ताहरुले केहि साइकलयात्रीलाई केरकार गर्दै गरेको देखियो | हामीलाई सिधै जान मनासिव लागेन र सामाखुशी चोक तर्फ अघि बढ्दै गरेका हामी धापासीतिर मोडियौ |

बाटोमा थकाई मार्दै

त्यहाँबाट हामी धापासी, ग्रीनल्याण्ड चोक, टोखा हुदै झोरतिर लाग्यौ | तराईमा हुर्के बढेको म त्यहाँको समथरमा धेरै साइकल कुदाएको भएपनि पहाडी उकालो ओरालोमा यति लामो मेरो पहिलो यात्रा थियो | केहि अफ्ट्यारो भएपनि यात्रा निकै रोमाञ्चक रह्यो | हामीलाई मौसमले राम्रो साथ दियो | त्यसदिन बिहानैबाट पानी परेको भएपनि यात्रा अवधिभर पानी परेन न घाम नै लाग्यो | टोखा भन्दा अघि बढेपछि बाटोमा भेटिएका केटाकेटीहरुले हामीलाई “हाई” र “हेल्लो” भन्दै चिच्याएर गरेको स्वागतले हाम्रो यात्रामा रौनकता थप्यो |
झोर पुगेर हामी केहीबेर थकाई मार्यौ | हामीलाई त्यहाको बौडेश्वर महादेवको मन्दिर जानु थियो | मन्दिरसम्म साइकल जान नसक्ने हुनाले हामीले त्यहिको एउटा पसलमा हाम्रो साइकल राख्यौ | केहि खानेकुरा किनेर हामी मन्दिर तर्फ लाग्यौं | त्यहाँका अधिकांश मानिसहरु धान रोपाई मा व्यस्त देखिन्थे | लगभग १५ – २० मिनेट केहि उकालो उक्लिए पछि हामी मन्दिरमा पुग्यौ | खास नाम बरुणेश्वर भएपनि स्थानीय बोलीचालीमा बौडेश्वर भनिदो रहेछ | स्वस्थानी ब्रतकथामा समेत बरुणेश्वरको उल्लेख रहेको एक स्थानीयले बताए | मैले सोचेभन्दा फरक पाए त्यो मन्दिर | शिवपुरीको काखमा रहेको गुफाभित्रको बरुणेश्वर मन्दिर, त्यसको छेवैमा झर्ने झरना र वरिपरिको वातावरण निकै मनमोहक थियो | झरनामा केहि युवाहरु नुहाइरहेका थिए | मन्दिर भित्र निकै अध्यारो थियो | म बाहिरैबाट भित्र चियाउन खोज्दै थिए एक भाइले मैनवत्ति बालेर भित्र घुमाए | गुफाभित्रको दायाँ पट्टि गणेशको मूर्ति रहेछ र त्यसको बायाँ पट्टि केहि भित्र महादेवको मूर्ति रहेछ | महादेवको मूर्ति एक जना मात्रै जान मिल्ने साँघुरो ठाउँमा रहेछ | महादेवको मूर्तिसँगै नन्दीको तथा अन्य स-साना मूर्तिहरु पनि थिए तर अध्यारो भएकोले ती मूर्तिहरु राम्ररी हेर्न भने पाइएन | मैले ती के का मूर्ति हुन् भनेर सोध्दा उसलाई समेत थाहा नभएको बताए | मन्दिर घुमी सकेर हामी केहि बेर झरनामा खेल्दै फोटो खिच्यौ | हामी सबैजना निथ्रुक्कै भिज्यौ र केहि जाडोको महसुस भयो |

झरना अघि पोज दिदै

केहीबेर त्यहाँ बसेर हामी बिस्तारै तल झर्यौ | मन्दिर भन्दा केहि तल एउटा ठूलो ढुंगामा बसेर खाजा खादै गफिन थाल्यौ | २०-२५ मिनेटको त्यहाको बसाइ पछि हामी तल झर्यौं | त्यहाँ एउटा पसलमा चिया पियौं | केहि साथीहरु भने त्यहि पसल भएको घरमा पालेको खरायो खेलाउदै फोटो खिच्नमा मस्त देखिन्थे | साइकल सुरक्षितसाथ राखिदिएकोमा पसलेलाई धन्यवाद दिदै हामी त्यहाँबाट फर्कियौँ |
फर्किदा भने हामीलाई निकै सजिलो भयो | अघि आउदाको उकालो अहिले ओरालोमा बदलिएको थियो | हामीले पाइडल नचालीकनै साइकल गुडीरहेको थियो | हामी टोखाको भूत्खेलमा केहि बेर बसेर बानियाटार हुदै फर्कियौँ | गोंगबु चोक पुग्दासम्म मानिस र गाडीहरुको निकै चहलपहल थियो, बन्द खुलिसकेको रहेछ | ठमेलमा पुगेर साइकल भाडामा लिएको पसलमा साइकल बुझायौ अनि सबै साथीहरु बिदा भएर आ-आफ्नो घरतिर फर्कियौँ |

Note: This article was originally published on www.kurokani.com on 23rd June 2013.

Leave a comment

Your email address will not be published. Required fields are marked *