कुरा कक्षा ७ पढ्दाको हो । त्यो बेला सुगा पाल्ने लहर चलेको थियो । मलाई पनि त्यो लहरले अछुतो राख्न सकेन । मलाई पनि सुगा पाल्ने निकै रहर लाग्यो तर सुगा कहा बाट ल्याउने भन्ने कुराले सतायो । मैले यो कुरा दिपेन्द्रलाई सुनाए । दिपेन्द्र त्यो बेलाको मेरो मिल्ने साथी; हामी सगै खेल्थ्यौ अनि सगै भविष्यका योजनाहरु बुन्थ्यौं । उसको साथीको नेटवर्क ठुलो थियो । उसले जुक्ति निकाल्यो। “चन्द्रलाई थाहा छ सुगा पाइने ठाउ”, उसले भन्यो । हामी चन्द्रलाई भेट्न गयौ । शनिवार स्कुल छुट्टीको दिन पारेर सुगा खोज्न जङ्गल जाने निधो भयो । अब भने मलाई शनिवार कहिले आउछ भनेर सताउन थाल्यो ।

शनिबारको दिन घरमा कसैलाई नभनी बिहान ७ बजे नै निस्कियौ; घर मा हामी भुराहरु मात्र जङ्गल जाने कुरा पारित नहुने डर जो थियो । बैशाखको समय निकै गर्मी थियो तर हामीलाई त्यसको कुनै प्रवाह थिएन न बिहानै खाली पेट हिड्दाको भोकको । 

हामी बिस्तारै जङ्गल तिर अघि बढ्य्यौ। घर बाट हिडेको ८-१० मिनेटको दुरीमा जङ्गल शुरु हुन्थ्यो तर सुगा पाउने ठाउँ पुग्न निकै पर जानू पर्ने चन्द्रले बतायो । जङ्गलको पहिलो खण्डमा स्थानियहरुको दैनिक भोगचलनको लागि सामुदायिक वन क्षेत्र थियोे । त्यहा घाँस काट्न आएका गाउलेहरु फाट्टफुट्ट भेटिन्थे । त्यो पार गरेर अमाहा खोला हुदै हामी घना जङ्गल तिर अघि बढ्यौं । शुख्खा मौसमले गर्दा अमाहामा कुनै ज्यान थिएन । सायद बर्खाको प्रतिक्षामा थियो । 

त्यो बेला थाकल पाक्ने समय थियो । 

“कस्तो थाकल खान मन लाग्यो, यार” दिपेन्द्रले भन्यो । “थाकल पाउने तिर लैजाऊ है चन्द्र” उसले थप्यो ।

“थाकल खाने भए अलि धेरै हिड्नु पर्छ, उता डाडा तिर जानू पर्छ” चन्द्रले उता नजाने आशयका साथ जवाफ दियो ।

“केही हुन्न जाऊ जाऊ” उत्साहित हुँदै दिपेन्द्रले कर गर्यो ।

चन्द्रले नकार्न सकेन, हुन्छमा मुन्टो हल्लायो । म केही नबोले पनि भित्र भित्रै उत्साहित हुँदै अघि बढिरहे । 

बाटोभरी बोल्ने काम दिपेन्द्र कै हुन्थ्यो । उ सग सुनाउनलाई कहानीको भण्डार कहिल्यै रितिदैन थियो । कहिले फिलिमको कथा सुनाउथ्यो, कहिले स्कुलको अनि कहिले बा बाजेले सुनाको कथा त कहिले झापाको कथा । उसले एक्सन सहित स्वर बनाई बनाई सुनाउथ्यो हामी चाख दिएर सुन्थ्यौ ।

अलि पर पुगेर हामी डाडा चढ्न शुरु गर्यौ । चन्द्रको जङ्गलको ज्ञान देखेर म त छक्कै परे । उसलाई जङ्गल भित्रको सबै थाहा थियो । मानौ कि ऊ दिन रात यहि बिताउछ । ऊ स्कुल जान छोडिसकेको थियो । कक्षा ४ पछि स्कुल जान बन्द गरेको थियो । घरमा घाँस दाउरा गर्न सघाउथ्यो अनि बाकी समय गाउँ डुल्थ्यो या भनौ जङ्गल डुल्दथ्यो । उसलाई थाहा थियो कुन रुखमा सुगाले गुड बनाउछ अनि कुन रुखमा रुपीले ।

अली माथि पुगेपछि थाकलहरु फलेको देखिन थाल्यो । हामी पाकेको थाकल छान्दै खान शुरु गरेउ । त्यो बेलासम्म भोकपनि मज्जैले लागेको थियो । हामीले अघाउन्जेल थाकल खायौ अनि अरु केहि थाकल घर लिएर जानलाई ठिक्क पार्यौ ।

त्यतिन्जेलसम्म चन्द्रभने सुगाको गुड खोज्न लागिसकेको थियो । उ रुखको टुप्पातिर हेर्दै गुड खोज्दै थियो । हामी हिड्दै चुरेको टुप्पामा पुग्यौ । त्यहाबाट देखिएको द्रिष्यले मेरो मनै लोभ्यायो । पर देखिएका डाडाका लहरहरु अनि त्यस बिच बाट बगेको खोला म अच्चम्मित हुदै हेरिरहे । आफ्नो गाउको त्यति नजिक बाट यति राम्रो द्रिष्य देखिने कुरा मलाई भेउनै थिएन । त्यो मनमोहक चित्र अझैपनि मेरो मानसपटलमा हुवहु कैद छ । 

Parrot chicks
Parrot chicks. Photo: Bishal Humagain/Routine of Nepal Banda

त्यतिन्जेलसम्म चन्द्रले एउटा रुख भेट्टायो सुगाको गुड भएको । चन्द्र रुखमाथि चढ्ने भयो हामी तलै बस्यौं । त्यो ठुलो रुखमा उ सुरु सुरु माथिसम्म चढ्यो । उ गुडको नजिक पुगेर के के गर्यो तल बाट देखिएन । केहि बेरमा उ बिस्तारै तल झर्न थाल्यो । एक हातले रुख समातेर एक हातमा सुगाको बच्चाहरु च्यापेर उ तल झर्यो । दिपेन्द्र र मैले एउटा एउटा सुगाको बच्चा लियौ बाकी दुइटा उसैले राख्यो । 

हामी त्याहाबाट फर्किने तरखर गर्दै थियौ एक्कासी अनौठो आवाजले हाम्रो ध्यान तान्यो । हामी सबैजना एकदम त्रसित भयौ । “के कराको?” मैले सोधे । “भालु होला” चन्द्रले भन्यो । डरले हामी काप्न थाल्यौ । दिपेन्द्रको भागौ शब्द भुइमा झर्न नपाउदै हामी त्यो आवाजको विपरीत दीशामा कुद्न थालिसकेका थियौ । हामी कति चाडै लड्दै गुल्टिदै डाडाको तल पुगेऊ पत्तै भएन । त्यो आवाज के को थियो त थाहा पाइएन तर हामी सकुशल भाग्न सफल भाको मा लामो सास फेरेउ अनि एकछिन मज्जाले हासेऊ । अनि बिस्तारै आ-आफ्नो घर तिर लागियो । 

घर पुगेर कसैले नदेख्ने गरि सुगालाई सुरक्षित ठाउँमा लुकाए । ३-४ बजेको थियो होला भोक मज्जैले लागेको थियो । भोक लाग्यो भन्दै ममीको अघि गए । ममीले खानलाई बिहानको बाकी रहेको भात दिदै दिनभरी कहाँ हराको भनी केरकार गर्न थाल्नुभो । म चुपचाप गाली सगै मज्जाले भात खाएर त्याहाबाट निस्के । सुगा ल्याको खुशीमा सायद मलाई गाली पनि मिठै लागेको हुनुपर्छ ।

सुगालाई ख्वाउन अलिकति कनिका बटुले । त्यसलाई थोरै पानीमा भिजाएर बिस्तारै ख्वाउन थाले । सुगा निकै सानो थियो हिडडुल गर्न सक्दैन थियो । प्वाखहरु पलाउन शुरु पनि भाको थिएन । त्यसको केही वर्ष अगाडि नेपाल टेलिभिजन बाट एउटा सन्देशमुलक कार्टुन सिरियल प्रसारित हुन्थ्यो । मिना कार्टुन । मिनाले पालेको अत्यन्तै प्यारो सुगाको नाम थियो “मिठ्ठु” । मिठ्ठुले हरपल मिनाको साथ दिन्थ्यो । मैले पनि सुगाको नामाकरण गरे “मिठ्ठु” । मिठुको लागि मैले एउटा कार्टुनको बट्टा खोजेर ल्याए अनि त्यसमै राखे ।

मिठ्ठु मेरो दैनिकीको अभिन्न अङ्ग बन्यो । गर्मी याम भएकोले स्कुल बिहानको समयमा लाग्थ्यो । स्कुल छुट्टी हुनासाथ म मिठ्ठुलाई चारो ख्वाउन दौडिन्थे । एक महिनाको समयमा मिठ्ठुमा धेरै परिवर्तन हुन थालेको थियो । प्वाखहरु पलाएर निकै सुन्दर देखिन थालेको थियो । उसलाई राखेको कोठामा हिडडुल गर्न थालेको थियो । म स्कुलबाट फर्किएर आउनासाथ मिठ्ठु भन्दै उसलाई बोलाउन जान्थे अनि उ पनि म भएतिर आउथ्यो । म मिठ्ठुको अविभावक बनेको थिए । मैले उसलाई विस्तारै बोल्न सिकाउदै थिए “गोपी …”  । विस्तारै मिठ्ठुले सानो सानो उडान भर्न थालेको थियो । 

एक दिन म स्कुल बाट आए अनि मिठ्ठु भाको कोठातिर लम्के । मिठ्ठुको कुनै प्रतिक्रिया आएन । म भित्र उ बस्ने ठाउ नजिकै गएर हेरे मिठ्ठु त्यहा थिएन । कोठाभरि खोजे, घरभरि खोजे, मिल्ने जति सबै ठाउमा खोजे मिठ्ठु मिठ्ठु गर्दै कराए तर मिठ्ठु कहि भेटिएन । मनमा चिसो पस्यो । कसैले मेरो मिठ्ठुलाई चोरेर पो लग्यो कि या उ आफै उडेर जङ्गल तिर भाग्यो कि? सबै प्रश्नहरु अनुत्तरित रहे अनि म निराश । त्यसको दुई दिनमा बारिको एक कुनामा मैले मिठ्ठुको प्वाखहरु देखे । अनि सम्झे मिठ्ठु राखेको कोठा वरिपरि डुल्ने बिरालोलाई, त्यसको मुख मिठ्याउदै गरेको तश्विर दिमागमा झलझली आयो । मलाई एकदमै ग्लानि महसुस भयो, मैले गर्दा… अनि फेरि मलाई सुगा पाल्ने रहर कहिल्यै पलाएन ।

Join the Conversation

1 Comment

Leave a comment

Your email address will not be published. Required fields are marked *